- सतिश त्रिपाठी " सार्थक "
मेरा रहरमा तिम्रा रहर मिसाउदा
नितान्त नयाँ बनेकाछन् यी रहरहरु
केही तिम्रो जस्तो केही मेरो जस्तो
साँच्चै भनौ त प्रिया न मेरो जस्तो न तिम्रो जस्तो!!
संगै उभिएका छन पुछ्रे हिमाल र लिबर्टी खम्बाहरु
पुछ्रे हिमाल मेरो रहरको
लिबर्टी खम्बा तिम्रो रहरको
देख्दै छु नयाँ शहर हाम्रो रहरको
केही तिम्रो जस्तो केही मेरो जस्तो
साँच्चै भनौ त प्रिया न मेरो जस्तो न तिम्रो जस्तो!!
यो शहर सपनाहरुको ब्यापार गर्छ
मृग त्रिस्ना देखाउछ, गुडान गरेर सपना हरुको
निलमको चारा देखाएर, कैद गर्छ बिस्तारै सिसाको पिजडामा
कृतिम पखेटाहरु मै अभ्यस्त हुनेछौ हामीहरु
दिनानुदिन नया रहरहरुले क्रमसः पाउला हाल्दै जानेछन्
यो दलदले शहर, हाम्रो रहरको बसाइँ सर्न दिदैन
तिम्रो र मेरो सम्झौताले म्याद थप्दै जानेछ, अनन्त सम्म
न मेरा रहर पुरा हुनेछन
न तिम्रा रहर पुरा हुनेछन
साच्चै भनौ त प्रिया, हामी मृग त्रिस्ना लिएर बाचिरहनेछौ!
झ्यौकिरी संगै बास बस्छ मेरो गाउँ आजपनि
उसै गरि उठ्छ भालेको डाँक सुनेर
सपनाहरुको रोपाइँ गर्छन, गोडमेल गर्छन रहरहरुको
र जिउछन वर्तमान
दैलोमा घामको छायाँ हेरेर, समय भन्छ मेरो आँगन
कमेरोको लाली पोत्दै मुस्काउछ मेरो दलिन
आशाहरुको टिका लगाई बिदा गरेका थिए तगारोहरुले
जोर घडा भरिको शुभकामना दिएर
फर्केर फेरी त्यहि आँगन सिंगार्ने आशले
मखमली फुल्दै होला, म फिर्ने आशले
घडी फूल पात्रो पल्टाउदै होला दिन छोटिने आशले
न मेरो फिर्ने कुनै सुरसार छ
न तिम्रो कुनै चाहना छ
साच्चै भनौ त प्रिया,
मेरो आँगन ब्यर्थको जिजीबिषा लिएर बाचिरहेको छ!
तिमि भन्छेउ, सबै उस्तै हुन्छ
छरपस्ट ताराहरुको माझ यो खुर्पे जून,
यो आकाश,
पुर्णिमाको गोधुली अंगालो
चाहे तिम्रो गाउँ होस् या यो शहर
जून उसै गरि मुस्काउनेछ
छर्ने छन् शुभकामनाहरु उसै गरि ताराहरुले
इन्द्रेणी उस्तै सप्तरंगी प्वाख फिजाउछ सगरमा
जहाँ बसे पनि, जहाँ बाँचे पनि
आखिर सपना हरुकै लागि हो
सक्छौ फैलाउ किर्ति,
गर्बले भुल्ने छ सबै व्यथाहरु तिम्रा आँगन, करेसाहरुले
सार्थक हुने छ तिम्रो जन्म
न तिम्ले गाउँ त्यागेको ठहर्छ
न तिमीलाई दुधको ऋणले पिरोल्छ
साच्चै भनौ त प्रिय,
तब मात्र हामी दुवैको जिबन सार्थक हुनेछ!
Comments
Post a Comment